दफा १५९
प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन गर्न अनुमति लिनुपर्ने
(१) कुनै पनि किसिमको सवारी चलाउने प्रशिक्षण कार्य सञ्चालन गर्न वा चालक प्रशिक्षण केन्द्र वा बस, ट्रकको बडी निर्माण गर्ने कारखाना वा अटोमोबाइल वर्कसप सञ्चालन गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विभागको अनुमति लिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको अनुमति लिन चाहनेले तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी विभागमा दरखास्त दिनु पर्छ ।
(३) उपदफा (२) बमोजिम दरखास्त परेमा त्यस्तो दरखास्त दिने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न सक्छ सक्तैन भन्ने कुराको जाँचबुझ गरी विभागले त्यस्तो प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।